काठमाडौं, ३० वैशाख-भारत सरकारले नेपाली भूमि मिचेर चीनको मानसरोवरसम्म पुग्ने सडक बनाएपछि त्यसको विरोध भइरहेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार धार्चुला-लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए ।
भारतले विवाद जमिनमा सडक बनाएर उद्घाटन गरेपछि राजधानी काठमाडौंमा दिनहुँजसो विरोध प्रदर्शन भइरहेका छन् । मंगलबार पनि विभिन्न दल तथा स्वतन्त्र रूप जम्मा भएका व्यक्तिबाट भारत सरकारको विस्तारवादविरुद्ध प्रदर्शन भएको छ ।
प्रदर्शनका क्रममा प्रहरीले सयभन्दा बढीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मानवअधिकारवादी कृष्ण पहाडी, विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शनासहित १ सय ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लिपुलेकमा नेपाली भूमि अतिक्रमणको विरोध गर्न उनको नेतृत्वमा युवाहरू केही पम्प्लेटसहित जम्मा भएका थिए । तर, नाराबाजी गर्न नपाउँदै प्रहरीले सबैलाई पक्राउ गरेको बताइएको छ । उनीहरूले सामाजिक दूरी कायम गर्दै प्रदर्शन गर्ने तयारी गरेका थिए ।