काठमाडौं, २९ वैशाख-राप्रपासम्वद्ध युवा विद्यार्थीले नेपाली भूमिमा भारतले हस्तक्षेप र अतिक्रमण गरेको भन्दै आज विरोध प्रदर्शन गरेको छ । लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दै १५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
भारतले नेपाली भूमिबाट सडक निर्माण गरेको भन्दै भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गर्दा युवा/ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको राप्रपा नेता राजाराम बर्तौंलाले जानकारी दिए ।
उनीहरूले लिम्पियाधुरा र लिपुलेक नेपाली भूमि हो, भारतीय सेना फिर्ता जाऊ, नेपाली भूमि मिच्न पाइँदैन, भारतीय विस्तारवाद मुर्दावाद, विदेशी हस्तक्षेप मुर्दावादलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
प्रहरीले उनीहरूलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको छ । पक्राउ पर्नेमा राप्रपा नेतृ कुन्तीकुमारी शाही, सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलास कटुवाल, शशी भण्डारी, निराजन बम, जगदीश राजभण्डारी, जनक फडेरा, सन्तोषी शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउत लगायका विद्यार्थी तथा युवाहरू रहेको नेता बर्तौंलाले जानकारी दिए ।
ट्विट गर्दै राप्रपा अध्यक्ष कमल थापाले पक्राउ गरिएकालाई तत्काल रिहा गर्न माग गरेका छन् । ‘नेपाली भूमि अतिक्रमणको विरुद्धमा राप्रपाआवद्ध भ्रातृ संगठनहरूले गरेको प्रदर्शनमा प्रक्राउ परेका सबैलाई तत्काल रिहा गरियोस्,’ अध्यक्ष थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाका लागि राप्रपा सदैव प्रतिवद्ध रहनेछ।’