परासी, १९ वैशाख-नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र बाँके जिल्लामा बिहीवार राती भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्।
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१६ त्रिवेणी जाने भित्री सडकखण्डको केराबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १२ च २००९ नम्बरको कार बिहीवार साँझ अचानक अनियन्त्रित भएर सडक छेउको बिजुलीको खम्बामा ठक्कर खाँदा करेन्ट लागेर कार चालक बर्दघाट–४ का ५२ वर्षीय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनामा कारमा सवार सोही स्थानका ३९ वर्षीय गोकर्ण शर्मा र ४२ वर्षीय रामप्रसाद पाण्डे घाइते भएका छन्। शर्माको टाउको र पाण्डेको ढाडमा चोट लागेको र उनीहरुलाई उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ। त्यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका–१ कुसुममा गएराती सवारी दुर्घटना हुँदा १ प्रहरी जवानको ज्यान गएको छ ।