एजेन्सी, बैशाख १५-दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनका वरिष्ठ सुरक्षा सल्लाहकारले उत्तर कोरियाका नेता किम जोङ उन स्वस्थ र जीवित रहेका जानकारी दिएका छन् ।
नेता किमको स्वास्थ्यका बारेमा अनेक अट्कलबाजी भइरहेका बेला दक्षिण कोरियाले पहिलो पटक आधिकारिक रुपमा उनको अवस्थाबारे जानकारी दिएको हो ।
१२ अप्रिलमा मुटुको शल्यक्रिया गरिएपछि नेता किम १५ अप्रिलमा आफ्ना हजुरबुबाको जन्मोत्सवमा अनुपस्थित भएका थिए । उनको अनुपस्थितिपछि स्वास्थ्यलाई लिएर अनेक टिकाटिप्पणी बाहिर आएका थिए ।
मुनका राष्ट्रिय सुरक्षा सल्लाहकार मुन चुंग इनले सीएनएनसँगको कुराकानीमा भनेका छन्, ‘हाम्रो सरकार अवस्थामा दृढ छ । किम जोङ उन जीवित र पूर्ण रुपमा ठीक छन् ।’ उनका अनुसार किम १३ अप्रिलदेखि पूर्वी क्षेत्रमा रहेको वोनसानको रिसोर्ट सहरमा रहेका छन् । अहिलेसम्म कुनै प्रकारको संदिग्ध गतिविधि नदेखिएको उनले स्पष्ट पारेका छन् ।
किम ११ अप्रिलदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । त्यसपछि उन १५ अप्रिलमा हजुरबुबाको जन्मदिनको कार्यक्रममा अनुपस्थित भएपछि स्वास्थ्य अवस्थालाई लिएर अनेक अट्कलबाजी भएका थिए ।