काठमाडौं, १३ वैशाख-विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ ।
शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय लिएको समितिका १ सदस्यले बताएका छन् । कति समय बढाउने भन्ने विषयमा ती सदस्य बोल्न नचाहे पनि बढाउन सिफारिस भएको बताएका छन् । ‘लकडाउन बढाउने निर्णय मन्त्रिपरिषद्बाट हुनेछ हामीले बढाउनुपर्छ भनेर सिफारिस गरेका छौँ,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरसको सन्दर्भमा हेलचेक्र्याइँ नगरी लकडाउनको विषयमा सिफारिस लिनका लागि उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए । समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषदमा छलफल भएपछि मात्रै निर्णय लिइनेछ ।
यसअघि राष्ट्रिय गौरवका आयोजना तथा उद्योग कलकारखाना पनि दूरी कायम गरेर मापदण्ड अपनाएर खुलाउन सक्ने निर्णय समितिले लिए पनि जनशक्ति अभाव र बढ्दो त्रासले खुल्न सकेको अवस्था छैन । काममा खटिने मानिसहरू सुरक्षित आवतजावतका विषयमा समेत मिलाएर काम अघि बढाउने नीतिमा सरकार देखिएको छ । तथापि, निजी तथा सार्वजनिक यातायात र अत्याआवश्यकबाहेकको व्यापार नखोल्ने नीतिमा सरकार अडिग रहेको छ ।