सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका स्वास्थ्य मन्त्रालय र रक्षा मन्त्रालयका नाममा करिब साढे ३ अर्ब रुपैयाँ रकमान्तर गरी निकासा गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार कोरोना रोकथाम तथा नियन्त्रणको प्रयोजनार्थ ३ अर्ब ९९ करोड रुपैयाँ निकासा गरिएको छ । जसमध्ये सरकारले कोरोना रोकथाम उपचार तथा नियन्त्रण कोषमा ५० करोड रुपैयाँ जम्मा गरेको छ ।
रक्षा मन्त्रालयका नाममा २ अर्ब ३४ करोड निकासा गरिएको छ । स्वास्थ्य मन्त्रालयलाई भने १ अर्ब १५ करोड निकासा गरिएको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन् ।
सरकारले कोरोना रोकथामका लागि नि:शुल्क परीक्षण, क्वारेन्टाइन, खाना, खाजाको व्यवस्था गरेको छ । त्यस्तै, यसअघि खरिद गरिएका स्वास्थ्य सामग्रीको भुक्तानीका लागि समेत गरी यो रकम निकासा गरिएको जनाइएको छ ।