सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड—१९) को परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाब परीक्षण (पीसीआर) र र्यापिड डाइग्नोष्टिक (आरडीटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताए । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उनले बताए ।
यस्तै, आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ । सोमबार नयाँ संक्रमित देखिएका छैनन् । अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन् । ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
उदयपुरमा पिसिआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ । उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा. देवकोटाले बताए ।