अख्तियार अनुसन्धान आयोग कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको भेन्टिलेटरलगायतका उपकरण खरिद प्रक्रियाका कागजपत्र नियन्त्रणमा लिएको छ ।
उपकरण खरिदमा अनियमितता भएको आरोप लागेपछि छानबिनका लागि अख्यिारले कागजपत्र नियन्त्रणमा लिएको हो । भेन्टिलेटरलगायतका उपकरण खरिदका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धानको कार्य सुरु गरिएको अख्यिारको सो कार्यालयका प्रवक्ता टोपबहादुर विष्टले बताए ।
खरिद गरिएका भेन्टिलेटर, वल्ड ग्यास एनलाइजर, डिफिब्रिलेटर तथा मोनिटरलगायतका उपकरण सम्बन्धमा अस्पताल व्यवस्थापन समितिले जानकारी नभएको जनाएपछि खरिद प्रक्रियामा अनियमितताको आशङ्का गरिएको थियो ।
महाकाली अस्पतालले १६ चैतमा बोलपत्र आह्वान गरेको भएता पनि बोलपत्र स्वीकृतिको प्रक्रिया अस्पताल खरिद एकाइ तथा मूल्याङकन समितिको हुने हुँदा बोलपत्रसम्बन्धी व्यवस्थापन समितिलाई जानकारी नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए ।