संसारभरी फैलिएको कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी इटलीका नागरिकले ज्यान गुमाएका छन् । इटलीका अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण शनिबारमात्रै ६ सय ८१ जनाको मृत्यु भएर मृत्यु हुनेको संख्या १५ हजार ३ सय ६२ पुगेको छ ।
तर शनिबार लामो समयपछि इटलीमा आशाको पहिलो किरण देखियो । इटलीमा आम नागरिकको सुरक्षा गर्ने सिभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा पहिलो पटक आईसीयूमा राखेर उपचार गरिनुपर्ने बिरामीको संख्यामा कमी आएको छ ।
सिभिल प्रोटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीलेले शुक्रबार इटलीका अस्पतालमा गम्भीर बिरामीको संख्या ४ हजार ६८ थियो । शनिबार यो संख्या कम भएर ३ हजार ९ सय ९४ भएको छ ।
एन्जेलो बोर्रेलीले भने, ‘यो हाम्रा लागि निकै महत्वपूर्ण तथ्यांक हो । किनकि पहिलो सिकिस्त बिरामीको संख्यामा कमी आएको छ । हाम्रा अस्पताललाई पनि यसले थोरै राहत दिने भएकाले पनि महत्वपूर्ण छ । उनीहरुलाई श्वास फेर्ने मौका मिल्नेछ । हाम्रो देशमा जुन दिनदेखि आपतकालीन अवस्था देखा प¥यो, त्यसपछि पहिलो पटक यसरी बिरामीको संख्यामा कमी आएको हो ।’
इटली सरकारको वैज्ञानिक परिषदका प्रमुख फ्रान्को लोकतेलीले गम्भीर बिरामीको संख्यामा आएको कमी एक महत्वपूर्ण संकेत भएको बताए । तर यसको अर्थ गम्भीर अवस्थाबाट पार पाइकियो भन्ने नभएको उनको भनाई थियो । उनले भने, ‘यसबाट हामीले जुन तरिका अपनाएका छौं । त्यो सफल हुन थालेको संकेत चाहिँ हो ।’
इटलीमा नयाँ संक्रमितको संख्यामा पनि कमी आएको छ । शनिबार इटलीमा कोरोना भाइरसका थप २ हजार ८ सय ८६ जना संक्रमित भेटिएका छन् । हाल इटलीमा ८८ हजार भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् भने करिब २१ हजार निको भएका छन् ।
लोम्बार्डीको उत्तरी क्षेत्र कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको छ । पुरै देशका संक्रमितमध्ये ८५ प्रतिशत यस क्षेत्रका रहेका छन भने मृत्यु हुनेमा पनि ठूलो संख्या यहाँको छ ।
यस इलाकाका मानिसलाई घरबाहिर निस्कनका लागि सुरक्षाका लागि मास्क लगाउन अनिवार्य गरिएको छ । यो नियम ५ अप्रिलदेखि १३ अप्रिलसम्म रहनेछ ।
यतिमात्रै होइन इटलीको उत्तरी क्षेत्रको अर्को सहर भेटेटो र आल्टो एडिगेमा पनि मानिसलाई बजार र किनमेलमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशन दिइएको छ ।
यसअघि यो इलाकाको भयानक अवस्था देखिएपछि यो कदम उठाइएको हो । १५ सम्म यहाँ बाहिर सडकमा हिड्न र मोटरसाइकल चलाउन समेत प्रतिबन्ध लगाइएको थियो भने सबै पर्यटकीय क्षेत्र र होटल बन्द गरिएको छ ।
यस्तै सो क्षेत्रमा कुनै पनि निर्माण कार्य गर्न पनि रोक लगाइएको थियो ।
इटलीमा पहिलो संक्रमित देखिनुअघि स्वास्थ्य मन्त्रालयले टास्क फोर्स गठन गरेको थियो । यो कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै तयार गरिएको थियो । इटली कोरोना भाइरस रोक्नका लागि हवाई सेवामा प्रतिबन्ध लगाउने पहिलो युरोपेली राष्ट्र हो ।
अहिले पनि पुरै इटलीमा लकडाउन गरिएको छ । तर लोम्बार्डीमा सबैभन्दा कडा नियम लागू गरिएको छ । जसको उल्लंघन गर्नेलाई साढे तीन लाखा रुपैयाँ सम्मको जरिमाना गरिन्छ ।
कडा नियम लागू गर्नुका बाबजुद पनि इटली कोरोना भाइरस संक्रमणबाट नराम्ररी प्रभावित बनेको छ । स्वास्थ्य मन्त्रालयले पूर्ण शक्ति प्रयोग गरेर बिरामीको उपचार गरिरहेको भए पनि अझै अस्पताल र बेडहरुको अभाव तथा मानवीय र प्राविधिक संशाधनका संकट देखा परेको छ ।
लोम्बार्डी क्षेत्रका एक ३८ वर्षीय व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि २० फेब्रुअरीपछि इटलीमा कोरोनाा भाइरस संक्रमण देखिन थालेको हो । त्यसयता इटलीको अवस्था भयावह बन्दै गएको थियो ।