विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म पूर्वी नाका काँकडभिट्टा भएर गाँजा र विभिन्न प्रकारका इन्जेक्सन मात्र प्रहरीले पक्राउ गर्ने गरेको थियो तर पछिल्लो समय ब्राउन सुगर, हिरोइन, ‘आइस ड्रग्स’ जस्ता लागूऔषधसमेत यहीँ नाकाबाट भित्र्न थालेको पाइएको छ । प्रहरीले लागू पदार्थसँगै व्यक्ति पनि पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश कारोबारी कम र सेवनकर्ता ज्यादा छन् ।
विगतमा लागूपदार्थ बोक्ने भरिया मात्रै पक्राउ हुन्थे । अहिले भने भरियासँगै कारोबारी नै पक्राउ पर्न थालेका छन् । पछिल्लो समय अनेक उपाय गरेर लागूपदार्थ ओसार्ने समूहहरू पक्राउ पर्दै आएका छन् । काँकडभिट्टास्थित मेचीपुललगायत अन्य ग्रामीण क्षेत्रका विभिन्न नाकामा लागूऔषध नियन्त्रण व्युरोले प्रहरी तैनाथ पारे पनि कारोवारीहरुले विभिन्न तौरतरिका र माध्यमबाट लागूऔषध ल्याउने गरेका छन् । अधिकांश दुव्र्यसनी सेवनका लागि सीमापारि बजार पानीट्यांकी जाने र बेच्ने उद्देश्यले बोकेर आउने गरेको पाइएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका अनुसार ८ महिनाको अवधिमा विभिन्न २९ घटनामा ४५ जनाविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा दर्ता गरिएको छ । प्रहरीका अनुसार काठमाडौं लागूऔषध प्रयोगकर्ता वढी भएको देशकै पहिलो जिल्ला हो । त्यसपछि झापा पर्छ । १ हजार १ सय ३५ जना कैदीबन्दी रहेको जिल्ला कारागार भद्रपुरमा लागूपदार्थ मुद्दाका मात्रै २ सय ५३ जना छन् । तिनमा २० जना महिला छन् । चालु आर्थिक वर्ष २०७४÷२०७५ को माघ तेस्रो सातासम्म इलाका प्रहरी कार्यालय काँकडभिट्टामा दर्ता भएका विभिन्न प्रकृतिका १२० वटा आपराधिक मुद्दामध्ये लागूऔषधका मात्र ३८ वटा दर्ता भएका छन् । पछिल्लो महिना दर्ता भएका २५ मुद्दामध्ये १९ वटा लागूऔषधको मात्रै रहेको छ । लागूऔषधको कारोबारमा संलग्नहरुका अनुसार यस नाकाबाट भित्र्याइएका लागूऔषध पूर्वी पहाडी जिल्लादेखि पूर्वकै विर्तामोड, दमक, इटहरी, धरानलगायतका शहरी तथा ग्रामीण क्षेत्रहरुसम्म पुग्ने गरेको छ ।
ब्राउन सुगर, फेनारगन, लुपिजेसिक, डाईजिपाम, नाइट्रोजन, कोरेक्स, फेन्सीडललगायतका औषधीजन्य लागूऔषध नेपाली बजारमा बेचबिखन गर्न प्रतिबन्ध भए पनि सीमावर्ती भारतीय बजारमा सहजरुपमै पाइन्छन् । यसै कारण नेपाली लागूऔषध प्रयोगकर्ता तथा त्यसमा संलग्न कारोबारीहरु भारतीय बजार धाउने अनि ठूलो संख्यामा लागूऔषध नेपाल भित्र्याउने गरेको प्रहरीको दाबी छ । पक्राउ परेकामा अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका छन् । युवा पुस्ता विभिन्न कारणबाट लागूऔषध प्रयोगकर्ता भएका कारण यो रोक्न सबैको सक्रियता आवश्यक रहेको प्रहरी नायव उपरिक्षक पोखरेलले बताए ।
पूर्वी नाकाबाट भित्रिएको लागूपदार्थ पूर्वका विभिन्न सहर अनि काठमाडौं र पोखरासम्म पुत्र्याउने गरिएको प्रहरीको भनाइ छ । लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कोही व्यक्तिको साथबाट १ ग्रामभन्दा माथि ५ ग्रामसम्म ब्राउन सुगर भेटिए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ । ५ ग्रामभन्दा माथि १० वर्षमुनि कैदको व्यवस्था छ । त्यस्तै, १० देखि २० ग्रामसम्म १० वर्ष, ५० ग्रामभन्दा माथि भेटिए आजीवन कैद हुने कानुनी व्यवस्था छ ।