प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँगको सहकार्यमा कोरोना संक्रमण रोकथाम गरिने बताएका छन् । उनले नेपालमा कोरोना भाइरसको संक्रमण प्रवेश नहोस् भन्दै उच्च सतर्कता अपनाएको समेत बताए । पहिलो प्राथमिकता नेपालमा कोरोना संक्रमणलाई प्रवेश नहोस् भन्ने रहेको र प्रवेश गरिहाले त्यसलाई ट्याकल गर्न तदारुकताका साथ लागिने उनले बताए ।
सीमाबाट नेपाल प्रवेश गर्ने यात्रुहरूको स्वास्थ्य अवस्थाबारे विशेष निगरानी गरिरहेको बताउँदै यसको रोकथामका लागि सरकारले सबै अंगहरू परिचालन गरेको उनको भनाइ छ । कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न देशभर चल्ने लामो दूरीका सवारी साधन स्थगित गरिएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा कोरोना भाइरस भित्रिए महामारीको अवस्थालाई हेरी थप कदम चालिने पनि बताए । नेपाल भित्रिने सबै विमान पनि बन्द गरिएको उनले बताए ।