काठमाडौं, चैत ३–सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरूले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरूबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताएका हुन् ।
उनले राजनीतिक दलहरूबीच सहमति जुटेपछि मात्रै आफूले एमसीसीलाई संसदीय एजेण्डाको रुपमा ग्रहण गर्न सक्ने बताए । उनले वर्तमान समयमा महत्त्वका दृष्टिले कोरोना भाइरससँगै एमसीसीबारे पनि बहस भइरहेको बताए । ’सत्तारुढ पार्टी र दलका नेता उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक सबैको सहमतिले एजेण्डा अगाडि बढाउने कुरा हो । त्यो छलफल हुँदै छ । सबैतिर छलफल हुँदै छ । सत्तारूढ पार्टीमा झन् छलफल हुँदै छ । बहसमै छ । कारोनातिर बहस केन्द्रित भए पनि त्यो बहसमै छ । बेला आअएपछि मैले त सहजीकरण गर्ने कुरा न हो’, सापकोटाले भने ।