काठमाडौं, फागुन २८–पूर्वपञ्च वाहुल्यको दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच बुधबार पार्टी एकता घोषणा भयो । १५ जेठ २०४७ सालमा निर्दलीय पञ्चायती व्यवस्थामा वारम्वार प्रधानमन्त्री भएका सुर्यवहादुर थापा र लोकेन्द्र बहादुर चन्दले स्थापना गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ६ पटकसम्म जुट्दै र फुट्दै अहिले पुनः एकतामा जुटेका हुन् ।
वुधबार राष्ट्रिय सभाको हलमा आयोजित एकता सभामा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शम्शेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता हिन्दुधर्मालम्बीको पवित्र ग्रन्थ गीतालाई साक्षी राखेर गरियो । तीन अध्यक्ष भएको राप्रपामा तीनै जनाले तीनवटा लक्ष्य लिएको बताए ।