काठमाडौं, फागुन २२–मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा आज दोस्रो दिन अपेक्षाकृत सुधार भएको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रूपमा काम गर्न थालेको छ ।
प्रा.डा. खड्गाले भने, ‘उहाँका सबै भाइटल तथा ल्याव सूचकहरू सामान्य अवस्थामा रहेका छन् । उहाँलाई आजैदेखि तरल तथा नरम आहार दिन थालिएको छ ।’ प्रा.डा. खड्गाका अनुसार प्रधानमन्त्रीलाई मिर्गौला दिने श्रीमती समीक्षा संग्रौलाको पनि अवस्था अपेक्षाकृत सुधार आएकाले उनलाई पनि आजैदेखि तरल र नरम आहार दिन सुरु गरिएको छ ।