विराटनगर, फागुन १२–पूर्वी पहाडी जिल्ला भोजपुर विद्युतमा आत्मनिर्भर हुँदै गएको छ । भोजपुरमा हाल ३३ केभी राष्ट्रिय प्रशारण लाइनबाट विद्युत संचालित छ भने स्थानीय ५ मेघावाटको इष्टर्न हाइड्रोपावर पनि संचालनमा रहेको छ ।भोजपुरमा हाल अर्को ८ मेघावाटको टक्सार पिखुवा हाइड्रोपावर निर्माणाधीन अवस्थामा छ । हाइड्रोपावरको निर्माण कार्य अहिले तीव्र गतिमा भैरहेको छ । कुल १ अर्ब ५० करोडकोे लागतमा हाइड्रोपावर निर्माण गर्न लागिएको हो ।
भोजपुर नगरपालिका–१२ सिक्तेल बेहेरे दोभानमा आयोजना निर्माणाधीन अवस्थामा छ भने विद्युत लाइन आपूर्तिकालागि अहिले नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रको सवस्टेशन पानीट्यांकीसम्म पोल गाड्ने काम समेत भइरहेको छ । यसै आर्थिक वर्ष्भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काममा तीव्रता दिइएको हाइड्रोपावरले जनाएको छ ।