जनकपुर, फागुन ११–मिथिलाञ्चल क्षेत्रको महाकुम्भको रूपमा रहेको १५ दिने मिथिला मध्यमा परिक्रमाको यस वर्षको शुभारम्भ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले डोला उठाएर गरेका छन् ।
नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध कायम राख्दै आएको मध्यमा परिक्रमामा धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट डोला र जनकपुरको रत्नसागर मन्दिरबाट माता सीताको डोलाको प्रमुख सहभागिता रहने गरेको छ । दुवै मन्दिरबाट उठेका डोला जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट परिक्रमाका लागि सँगै उठेपछि औपचारिक शुभारम्भ हुने परम्परा रहँदै आएको छ । तर, यस वर्ष परिक्रमा प्रस्थानको अध्यक्ष प्रचण्डले मिथिला बिहारीको डोला उठाएर शुभारम्भ गरेका हुन् । डोलासँगै हजारौँ व्यक्तिले परिक्रमा गर्ने गर्छन् ।