जनकपुर, फागुन ६–लामो समयदेखि अवरुद्ध प्रदेशसभा बैठक सञ्चालन गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आठ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता सत्यनारायण मण्डलको नेतृत्वमा गएको टोलीले सदन अवरुद्ध हुँदा नीति निर्माणदेखि सरकारको गति ठप्प भएको भन्दै यस्तो माग गरेको हो ।
ज्ञापनपत्रमा सरकारकै कारण प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएकोले समस्या समाधान गरी संसद बैठक सञ्चालनको वातावरण निर्माण गर्न, चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको विकास निर्माणको कार्यक्रम सार्वजनिक नगरेको भन्दै प्रदेशको सबै निर्वाचन क्षेत्रमा पर्ने गरी यथाशीघ्र रातो किताब सार्वजनिक गर्न, संघीय सरकारद्वारा हस्तान्तरित जनता आवास कार्यक्रममा ढिला सुस्ती नगर्न, सबै निर्वाचन क्षेत्रमा घर हस्तान्तरण गरी व्यवस्थित रुपले कार्यान्वयन गर्न, अख्तियारी नपुगेको जिल्लामा अख्तियारी पठाउन मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ ।