विराटनगर । कोशी प्रदेशका दुई मन्त्रालयले सशासन कायम गर्न भन्दै बेरुजु फछ्यौट अभियान सुरु गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले यो अभियान थालेका हुन् । दुबै मन्त्रालयमा मन्त्री भने भुपेन्द्र्र राई छन् । मन्त्रालयले महालेखापरीक्षकको कार्यालयको सहकार्यमा अभियान थालेका हुन् ।
कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले असुल गर्नुपर्ने बेरुजुलाई यसअघि नै उल्लेख्य घटाएको थियो । साना–सान कुरामा परिवर्तन गर्न नसक्दा बेरुजु बढेको महालेखा परीक्षकको कार्यालयका महानिर्देशक बालकृष्ण थापाको बताए । उनले साना सान कुरा परिवर्तन गर्न सके बेरुजु घट्ने बताए । मन्त्री राईले नेतृत्व समालेपछि भने सुधार आएको उनले दाबी गरे ।
समयम दिन नसक्दा बेरुजु बढेको भौतिक पुर्वधार विकास मन्त्रालयका सचिव अशोक कुमार साह बताउँछन् । साहले अब बेरुजु घटाउने र आउन नदिने गरी काम गर्ने समेत उनले बताए । ‘हप्तामा नत्र १५ दिनमा यहि विषयमा हामी अब छलफल गर्छौ,’ उनले भने ।
राजनीतिकर्मी र कर्मचारीले ध्यान नदिँदा व्यवस्थामाथि जनस्तरबाट प्रश्न उठेकाले सशासनमा ध्यान दिएको मन्त्री भुपेन्द्र राईको भनाइ छ । राईले संघीयतापछि विकास अघि बढे पनि सुशासन गर्न नसकिएको पनि बताए । राजनीतिकर्मी र कर्मचारी दुवैप्रति नागरिकको दृष्टिकोण राम्रा नभएकाले सुशासनसहितको विकास चाहिएको उनले बताए ।
गत आर्थिक वर्ष २०८०–८१ सम्ममा भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको असुल गर्नुपर्ने बेरुजु रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो । सो मध्ये १८ करोड ५९ लाख ५९ हजार ७५३ रुपैयाँ बेरुजु असुल गरेको छ । सो मन्त्रालयको जम्मा बेरुजु रकम २ अर्ब ३९ करोड ८ लाख ८० हजार ७०२ रुपैयाँ थियो । सो रकममध्ये ३९ करोड ७९ लाख ९० हजार ४३७ रुपैयाँ बेरुजु घटाएको मन्त्रालयले दाबी गरेको छ । यस्तै प्रदेश स्वास्थ्य मन्त्रालयले असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजुलाई उल्लेख्य घटाएको छ । नियमित गर्नुपर्ने ३७ करोड ६२ लाख ७८ हजारमध्ये १४ करोड १२ लाख ८४ हजार ९८३ रुपैयाँ नियमित गरेको र असुल गर्नुपर्ने ३ करोड ५ लाख १ हजार ३२८ मध्ये ५३ लाख ६७ हजार ७८६ रुपैयाँ असुल भएको मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले १४ करोड ६६५ लाख ५२ हजार ४७० रुपैयाँ बेरुजु रकम घटाएपछि ४१ करोड ३९ लाख १३ हजार ५ रुपैयाँ बेरुजु कायम भएको जनाएको छ । दुवै मन्त्रालयको जिम्मा मन्त्री भुपेन्द्र राईले लिएका छन् । आफू मन्त्रालयमा आएपछि बेरुजु घटाउन तदारुकता दिएको उनले बताए । आगामी दिनमा पनि बेरुजु घटाउने अभियान जारी रहने उनले जनाएका छन् ।