विराटनगर । मोरङ जिल्लामा नयाँ कारागार भवन उद्घाटन गरिएको छ । करिब ३६ करोड १२ लाख ८५ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवनको उद्घाटन गृहमन्त्री रमेश लेखकले मंगलबार एक कार्यक्रमबीच गरेका हुन् ।
नयाँ संरचनामा पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी र सशस्त्र प्रहरीका भवनहरू, प्रशासनिक ब्लक, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, नाला तथा सडकसहितका पूर्वाधारहरू समावेश गरिएको छ ।
कारागार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नयाँ भवनको निर्माण सम्पन्न भएसँगै पुरानो भवन पनि कैदीबन्दी राख्न प्रयोग गरिनेछ । आशिष, आशिर्वाद, स्वामीनारायण जेभी निर्माण कम्पनीले २०७८ सालमा ठेक्का पाई दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेकोमा गत पुसमा निर्माण कार्य सम्पन्न गरेको थियो ।
नयाँ ब्लक निर्माणसँगै मोरङ कारागारको क्षमता उल्लेख्य रूपमा बढेको छ । अहिले नयाँ भवनमा २१८ जना पुरुष र ९९ जना महिला कैदीबन्दी राख्न सकिने क्षमता रहेको छ । यससँगै मोरङ कारागारको कुल क्षमता ४६८ पुरुष र १५९ महिला गरी ६१७ जना पुगेको छ ।
यसअघि कारागारमा जम्मा ३०० जनाको बसोबास क्षमतामात्रै भए पनि क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको थियो । हाल मोरङ कारागारमा ९३२ पुरुष, १०९ महिला र ३ जना नाबालकसहित कुल एक हजार ४४ जना कैदीबन्दी छन् ।
उद्घाटन कार्यक्रममा गृहमन्त्री लेखकले कारागार सुधार गृहका रूपमा विकसित भइरहेकाले कैदीबन्दीलाई उद्यमशील बनाउने दिशामा राज्य अग्रसर रहेको बताए ।
‘कारागारलाई अब सुधार गृह मात्र होइन, उद्योगग्रामको रूपमा पनि विकास गर्न जरुरी छ,’ उनले भने, ‘यहाँ बसेका मानिसले कुनै न कुनै सीप सिकून्, उत्पादनसँग जोडिऊन् र आयआर्जन गर्न सकून् भन्ने उद्देश्यले हामी अगाडि बढिरहेका छौं ।’