विराटनगर । गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।
एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो ।
सरूवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रमुखमा डिआइजी चन्द्रकुवेर खापुङ आउने भएका छन् । कोशीका डिआइजी राजेशनाथ बास्तोलाको नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल काठमाण्डौंमा सरुवा भएका छन् ।
यसैगरी मधेसमा यज्ञविनोद पोखरेल, बागमतीमा विष्णुकुमार श्रेष्ठ, गण्डकीमा विकासराज खनाल, लुम्बिनीमा कुबेर कडायत, कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा वीरेन्द्र केसीलाई पठाउने निर्णय भएको छ ।
कोशी प्रदेशको डिआइजी भएर आउने खापुङ २०५० सालमा इन्सपेक्टरबाट सेवामा प्रवेश गरेका हुन् । उनले अपराध महाशाखा केरकारमा पनि इन्स्पेक्टर भएर काम गरेका छन् ।
२०६४ सालमा उनी डिएसपी भए । डिएसपी भएर जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पनि बसेका चन्द्रले काठमाडौंका विभिन्न वडागत युनिटहरूमा पनि सेवा गरेका छन् ।
चापागाउँमा डिएसपी हुँदै दरबार मार्गको पहिलो डिएसपी भएर समेत उनले सेवा गरेका छन् । ०७४ सालमा उनी एसपी भएर जिल्ला प्रहरी कार्यालय बागलुङमा बसेका थिए । त्यसपछि उनी हेडक्वाटर बसे । उनी हेड क्वाटरको कर्मचारी प्रशासन शाखामा २ वर्ष बसेका हुन् । ०७७ सालमा उनी एसएसपी बने । एसएसपीको भर्ना छनोटपछि उनी पुनः हेड क्वाटरमै बसे । त्यसपछि उनी उपत्यका अपराध महाशाखा हुँदै पुनः हेड क्वाटरमा आए । उनले बागमती प्रदेश कार्यालयमा बसेर समेत सेवा गरेका छन् ।
२०८० वैशाखमा डिआइजी बनेका उनको अब जागिर खाने समयावधी लगभग साढे २ वर्ष मात्र बाँकी छ ।
को हुन डिआइजी खापुङ ?
तेह्रथुम जिल्लाको साबिक मोराहाङ हालको मेन्छ्यायेम गाउँपालिकामा जन्मिएका चन्द्रकुवेर खापुङ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुन् ।
किसान परिवारमा जन्मिएका उनको परिवारलाई कृषि कर्म गरेरै खान पुग्थ्यो । बाउ बाजेको प्रशस्त जग्गाजमिन भएकाले उनले जीवनमा अभावको महसुस गर्नु परेन । तर उनका बुबाआमा छोराछोरी पनि आफूजस्तै किसान बनून् भन्ने चाहँदैन थिए । र, जीवनमा केही गर्नुपर्छ भनेर छोराछोरीलाई सम्झाउँने गर्थे ।
चन्द्रका बुबा ललितबहादुर खापुङ भने गाउँमा सामाजिक अभियन्ताका रुपमा काम गर्थे । ६ भाइ छोरामध्ये उनको पढाई राम्रो थियो । सानैदेखि खोज तथा अनुसन्धानमा दखल राख्ने व्यक्तिमा उनी गनिन्थे । विद्यालयमा पनि उनको नाम सबैले अनुशासित र जेहेन्दार विद्यार्थीमा लिन्थे । ०४२ सालमा उनले एसएलसी दिँदा उनको विद्यालयबाट तीन जना मात्र पास भए । ती तिनमध्ये खापुङले सबैभन्दा राम्रो नतिजा ल्याएका थिए । एसएलसीपछि बुबाले उनलाई काठमाडौं पढ्न पठाउने निधो गरे । ०४३ सालमा पढ्नका लागि उनी काठमाडौं आए । काठमाडौं आएपनि कहाँ पढ्ने ? कहाँ बस्ने ? केही योजना थिएन । दाजुले नेपाल ल क्यापसमा भर्ना गरिदिएपछि उनले त्यहीँ पढ्न सुरु गरे । पढ्दै जाँदा ०४९ सालमा उनले बीएल पास गरे ।
०४६ सालको पञ्चायत ढाल्ने आन्दोलनका कारण उनको ०४८ सालमा सकिनुपर्ने बीएलको परीक्षा रोकिएको थियो । पञ्चायत र संवैधानिक राजतन्त्रको साक्षी उनीपनि थिए । काठमाडौंको बसाईमा त्यो बेला पाएको दुस्ख र संघर्षको असरले उनलाई पनि गलाएको थियो । चन्द्रलाई त्यो बेला काठमाडौं छाडेर घर जाऊ कि जस्तो पनि लागेको थियो । तर, उनी हारेनन् । कानूनको विद्यार्थी भएकाले समयको उपयोग गर्दै पञ्चायती व्यवस्था र बहुदलको बारेमा उनले गहिरोसँग अध्ययन गर्ने मौका समेत पाए ।
चन्द्र बीएल सकेर काठमाडौंमै लोकसेवाको शाखा अधिकृतको तयारी गर्दै थिए । निजामती सेवामै आफूलाई समर्पित गर्ने सोच उनको थियो । यसैबीच ताप्लेजुङका साथीहरू आएर इन्सपेक्टरमा फारम खुलेको बताए । उनको रहर त्यतातिर थिएन । साथीहरूले अनुभवका लागि भएपनि दिऊँ भनेर कर गरेको हुनाले उनले परीक्षा दिए ।
चन्द्रले लहलहैमा प्रहरी इन्सपेक्टरको परीक्षा दिने निधो गरेका थिए । उनले २०५० सालमा इन्सपेक्टरको परीक्षा दिए । जिके र आइक्यूको परीक्षा थियो । उनी भन्छन्, ‘पुलिसको जिकेमा गाह्रो हुने रहेछ तर, पास भइयो । त्यो पछि पाँच वटा विषयको जाँच दिए । त्यसमा पनि म खुरुखुरु पास भएँ ।’