७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयले हप्ताभरि विभिन्न कार्यक्रम गरी आज मनाउँदैछ । हप्ताभरि गरेका कार्यक्रम बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी समापन भएको छ । अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्रप्रसाद ढुङ्गानासँग गरिएको संक्षिप्त कुराकानीः
आइसिपीबाट कसरी काम कारबाही भइरहेको छ ?
– एकीकृत जाँच चौकी अन्तर्गत विभिन्न सम्बन्धित निकायहरू एकै ठाउँमा रहेर कार्य गरिन्छ । जस्तै भन्सार कार्यालय, क्वारेन्टाइन कार्यालयहरू, बैङ्क, सुरक्षा निकाय, अध्यागमन कार्यालय, प्रयोगशाला आदि यी सबै कार्यालयहरू एकै ठाउँमा हुने गर्दछ । विदेशबाट आउने व्यक्ति वा मालसामानको चेकजाँचसम्बन्धी कार्य र सुविधा एकै ठाउँबाट प्रदान गरिन्छ । एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि आयात–निर्यातकर्तालाई कम समयमै सहजरूपमा वस्तु आयात–निर्यात गर्न सहज भएको छ ।
यात्रु शाखाबाट कस्तो सामान जाँचपास हुन्छ ?
– यात्रु शाखाबाट यात्रुहरूले आफ्नो साथमा ल्याएको एक सय रुपैयाँभन्दा बढीका सामान्य वस्तुहरू (झिटी, गुन्टा कानूनले तोकेका वस्तुहरू) जाँचपास हुन्छ । व्यापारिक सामानहरू आइसिपीबाट मात्र जाँचपास गरिन्छ ।
भारतको जोगवनीबाट सर्वसाधारणले यसअघि सहजरुपमा घरायसी सामान ल्याउने गरेका थिए । अहिले कडाइ गरिएको हो ?
– खुद्रा सामान खरिद गर्न भारतीय बजार जोगवनी जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न विराटनगर भन्सार कार्यालयले कडाइ गर्न थालेको छ । चोरी, तस्करी र भन्सार चुहावट हुने क्षेत्रमा सुधार गरी राजश्व वृद्धि गर्ने उद्देश्यले औपचारिक तथा अनौपचारिक दुवैतर्फबाट हुने चुहावट नियन्त्रण गर्नेतर्फ भन्सार कार्यालयले एकैसाथ काम थालेको हो । विराटनगर भन्सार भएर भारतको जोगवनी बजारमा दैनिक हजारौं नेपालीहरू किनमेलका लागि जाने र करोडौं रुपैयाँ खर्चिने गरेकोले त्यसलाई रोक्न भन्सार कार्यालयले भारतबाट आउने यात्रु र किनमेलका लागि गएका उपभोक्ताहरूमाथि कडाइ गर्न थालेको हो । दैनिक बजार भर्न भारतीय बजार जोगवनी जानेहरूबाट सङ्कलन हुने भन्सार राजश्वमा उल्लेख्य सुधार आएको छ । यसरी नेपाली ग्राहक भारतीय बजारमा सामान खरिदका लागि जाने कार्यले एकातिर सर्वसाधारण भारतमा लुटिने, चोरिने, ठगिने तथा कमसल वस्तु खरिद गर्न बाध्य हुनेछन् भने अर्कोतिर स्वदेशी व्यापार निरुत्साहित हुने र नेपाली व्यापार घट्ने कार्यले देशको अर्थतन्त्रलाई नै नकारात्मक असर पर्दछ । त्यसैले उपभोग्य र खुद्रा वस्तु खरिद गर्न पनि भारतीय बजारमा जाने प्रवृत्ति बढ्दै गएकोले त्यसलाई रोक्ने प्रयास गरिएको हो ।
भन्सारमा कडाइ गरेको भए पनि किन लक्ष्यअनुसार राजस्व सङ्कलन भएन ?
– यसमा विभिन्न कारणहरू छन् । जसको विस्तृत अध्ययन र विश्लेषण हुनुपर्छ । विश्वमा आर्थिक मन्दी बढेको अवस्था रहेको छ । आयातमा आधारित राजस्व भएको र आयात नै घटेको अवस्था भएको कारणले पनि लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको अवस्था हो । यस्तै बैङ्क÷वित्तीय संस्थाहरूसँग तरलताको अभाव भएको, लगानी कम भएको र राष्ट्र बैङ्कबाट नै पैठारीमा नियन्त्रणमुखी योजना भएकोदेखि लिएर विराटनगर औद्योगिक क्षेत्र भएको र उद्योगहरूले आफ्नो उत्पादन ठूलो मात्रामा कटौती गरेको र खुल्ला बोर्डरको कारणले पनि थप चुनौती भएको हो । अर्को कुरा, भन्सारको लक्ष्य नै ठूलो रहेको छ । यसलाई पनि पुनर्विचार गर्नुपर्ने अवस्था रहेको छ ।
घरायसी सामान खरिद गर्न ठूलो सङ्ख्यामा भारतीय बजार जोगवनी जाने गर्दछन् । यसरी दैनिक सयौंको सङ्ख्यामा सीमावर्ती भारतीय बजार जाने नेपालीलाई के भन्नुहुन्छ ?
– घरायसी सामान नेपालमै खरिद गरौं । यसो गर्दा सामानको वारेन्टी र ग्यारेन्टी हुन्छ । स्वेदशी बजारमा सामान खरिद गर्दा गुणस्तरहीन सामान फिर्ता गर्न सजिलो हुन्छ । भारतमा चोरिने, ठगिने र कम तौल दिने धेरै भेटिएको छ, यसबाट बचिन्छ । सबै व्यापारीले भन्सारमा राजस्व तिरेर मात्र आइसिपीबाट कारोबार गरिनुपर्दछ । यात्रु शाखाबाट व्यापारिक सामान जाँचपास हुँदैन । गलत बाटोबाट पैठारी गरेमा मालसामान जफत हुन्छ र दण्ड जरिबानासमेत लाग्छ । कानूनी कारबाहीसमेत हुने जानकारी गराइन्छ । चिनी तथा केही खाद्यवस्तु भारतीय बजारमा सस्तोमा पाइए पनि उपभोक्ताहरूले परिमाणमा ठगिने गरेका छन् । त्योबाहेक बजारलाई निर्वाध खुला छोडिदिँदा नेपाली बजार र व्यापारमा पर्ने असर कम गर्न नसकिएकोले भन्सारलाई व्यवस्थित गरिएको छ । जोगवनी–रानी प्रवेशद्वारबाटै उपभोक्ता र भारतबाट आउने यात्रुहरूलाई चेकजाँच गर्ने कार्यलाई कडाइ गर्न थालेपछि खुद्रा वस्तुहरूको आयातका लागि भन्सारसँग अनुमति लिने क्रम बढ्न थालेको छ । लामो समयदेखि भारतबाट माछाको आयात गर्दा औपचारिक मार्ग प्रयोग नभइरहेकोमा केही दिनयता माछा आयातका लागि भन्सारमा अनुमति माग्न थालिएको छ । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी, जनपद प्रहरीका युनिटहरू र सिङ्गो भन्सार कार्यालयले सीमाक्षेत्रबाट हुने चोरी तस्करी र अनौपचारिक आयातमाथि निगरानी बढाउँदै कडाइ गरेपछि थुप्रै वस्तुहरू भन्सारमार्फत् आयात हुन थालेको छ । अहिले एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तुमा अनिवार्य भन्सार तिराउन थालिएको छ ।