विराटनगर । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्रदेश १ बाट पदकविजेता खेलाडीहरुलाई प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले पुरस्कारसहित सम्मान गरेको छ । मंगलबार इटहरीमा सम्पन्न खेलाडी सम्मान कार्यक्रममा खेलकुद विकास बोर्डले १ सय ९६ जनालाई नगदसहित पुरस्कृत गरेको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए । शरिरसंगै भविष्यलाई जोखिममा राखेर खेल्ने खेलाडीका लागि राज्यले सेवासूविधा अपेक्षाकृत रुपमा प्रदान गर्न नसकेको बताउँदै मुख्यमन्त्री राईले प्रदेश सरकारले पदक विजेतालाई सम्मान गरेको बताए । ‘खेलकुदमा लगानी अभाव छ । सरकारले खेलाडीसंगै खेल क्षेत्रमा लगानी बढाउन सक्नुपर्छ । लगानी अभाव रहिरहने भए खेलकुदलाई बन्द गरिदिए हुन्छ,’ उनले भने, ‘सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर खेलाडी र अभिभावकलाई समेत सुनिश्चित गर्न सक्नुपर्छ।’
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले खेलाडीहरुले छोटो समयमा तयार भएर नवौंमा स्पर्धा गर्दा वरियतामा सम्मानजनक अवस्था ल्याएको बताए। धेरै अभावका वावजुद खेलाडीको परिश्रम, खेलकुद बोर्डको तयारीले वरियतामा आएको सुधारले प्रदेशको इज्जत राखेको मन्त्री कार्कीको भनाई छ ।
कार्यक्रममा प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेले बजेट अभाव र तयारीका लागि छोटो समयका कारण अपेक्षाकृत रुपमा नतिजा आउन नसकेको बताए । उनले भने, ‘खेलाडीको मेहनतले प्रदेशको वरियतामा सुधार आएको छ। त्यसलाई सबैले सम्मान गर्नुपर्छ । तर, खेलकुदलाई चलायमान बनाउन, बोर्डलाई मार्ग निर्देश गर्न प्रदेश सरकार र खेलकुद पदाधिकारीको महत्व रहन्छ । आगामीदिनमा पनि खेलाडीको भविष्यलाई सुनिश्चित बनाउन बोर्ड तयार रहेको छ।’
खेलाडीको सुविधाका लागि बोर्डले विराटनगरको नोबेल शिक्षण अस्पताल र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा स्वास्थ्य उपचार सेवा निस्शुल्क गराएको बताएका सदस्यसचिव वाग्लेले प्रदेशमा जग बसाल्दै खेलाडीको सुखद भविष्यका लागि काम गरिरहेको बताएका थिए ।
२ स्वर्ण र १ रजत हात पारेका संखुवासभाका पौडीवाज विकास कुमालले खेलाडीलाई पुरस्कृत गरेर हौसला बढाएको बताए । त्यसैगरि, सफ्ट टेनिसतर्फ ३ स्वर्ण र १ रजत हात पारेका मोरंगका युकेश योञ्जनले खेल र खेलाडीलाई सरकारले प्राथमिकताविहीन नबनाइदिन आग्रह गरे । उनले खेलाडीलाई प्रतियोगितामा सहभागिता गराउँदा आवश्यक सामाग्री, र तयारी समयलाई ध्यान दिन जोड दिए ।
कार्यक्रममा बोर्डका अध्यक्ष सामाजिक विकास मन्त्री राजन राई, आर्थिक मामिला तथा योजना मन्त्री राजन राई, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव केशवकुमार विष्ट लगायतले खेल र खेलाडीको भविष्यलाई सुनिश्चित गराउन सक्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा १० स्वर्णतर्फ १५ जना, २३ रजततर्फ ३४ जना र ५३ कास्यतर्फ ९६ जना, प्रशिक्षक र ब्यवस्थापकमा ५१ गरि कुल १ सय ९६ जना खेलाडीलाई पुरस्कृत गरिएको बोर्ड उपाध्यक्ष जिना कार्कीले जानकारी दिइन् । उपाध्यक्ष कार्कीले स्वर्णपदक हात पार्ने खेलाडीले नगद १ लाख, स्वर्णमै इभेन्ट्सतर्फ ७५ हजार, रजत एकलमा ७५ हजार र रजतकै इभेन्ट्समा ५० हजार, कास्य एकलमा ५० हजार र इभेन्ट्समा २५ हजार, प्रशिक्षकतर्फ २५ हजार र ब्यवस्थापकलाई २० हजार रुपैयाले पुरस्कृत गरिएको उनले जानकारी दिइन् ।
७ सय ६ जना खेलाडीको सहभागिता रहेको नवौं राष्ट्रिय खेलकुदमा पुरुष ३ सय ७४ र महिला ३ सय ३२ खेलाडी रहेका थिए । ३५ खेलमा स्पर्धा गरेको प्रदेश १ तर्फबाट ६६ प्रशिक्षक र ४८ ब्यवस्थापक रहेका थिए।