विराटनगर । पछिल्लो समय काठमाण्डौंका मेयर बालेन्द्र शाहले महानगरपालिकाको नक्सा हेर्दै धमाधम अवैध संरचनाहरू हटाउन लागि परेका छन् । काठमान्डुलाई सु– सांस्कृतिक सहर बनाउने प्रण लिएर गत स्थानियतहको निर्वाचनमा काठमान्डौको मेयरमा निर्वाचित भएका शाहले यति वेला खोजी खोजी सार्वजनिक सम्पत्ति हडपेर बनाइएका अवैध संरचनाहरू हटाउन लागि परेका छन् ।
बालेनले यसरी अवैधरुपमा बनेका संरचनाहरूमा माथि डोजर चलाई रहँदा कतै उनको आलोचना हुने गरेको छ भने कतै कामको प्रशंसा पनि उत्तिकै मात्रामा हुने गरेको छ ।
फराकिलो र सुन्दर काठमान्डौ निर्माणको अभियानमा दिनरात काम गरिरहेका बालेन्द्र शाहको साहसिक कदमले पछिल्लो समय काठमान्डौको इतिहास बोकेको टुकुचा खोला समेत फेला पारेको छ । बिचौलियाहरूको चङ्गुलमा परेर ५० वर्ष अघि देखी हराई रहेको अतिक्रमित टुकुचा खोला फेला परेपछि बालेनको यति वेला सर्वत्र प्रशंसा हुँदै आएको छ ।
७५३ स्थानियतह रहेको नेपालमा यति वेला हकिकतै कुनै जनप्रतिनिधिको देश विदेशमा चर्चा छ भने त्यो हो, काठमान्डौका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ् ।
देशको राजधानी काठमान्डुलाई सुन्दर बनाउन मेयर बालेन अहोरात्र खटिरहेका छन् भने धरानका मेयर साम्पाङ् धरानले वर्षौँदेखि खेप्दै आएको खानेपानी समस्या साधनका लागि हरेक दिन श्रमदान मार्फत काम गरेर स्थानीय सर्दु खोला र निशाने खोलाको पानी धरानमा झार्न सफल भएका छन् । उनीहरूको यो कामको यति बेला सारा देशवासी नै दिवाना बनेका छन् ।
हो, उनीहरूको जस्तै आँट, साहस र हिम्मत यति वेला उर्लाबारी नगरपालिकाका जनताले पनि मेयर गङ्गाप्रसाद खरेलमा हेर्न चाहेका छन् ।
निर्वाचनताका उर्लाबारीका मेयर खरेलले उर्लाबारीलाई ‘क्लिन उर्लाबारी’ का रूपमा विकास गरेर लैजाने प्रतिबद्धता गरेका थिए । तर उनी निर्वाचित भएको १ सय दिन भन्दा बढी भई सकेको छ । यो अवधिमा उनले चुनावमा बोलेको ‘क्लिन उर्लाबारी’ भन्ने नाराको उपलब्धि यति वेला कहीँ पुगेर अड्कियो की कुन रद्धिको टोकरीमा पस्यो कसैलाई थाहा छैन ।
उर्लाबारीमा सार्वजनिक बाटो, कुलो, पैनी मासेर बनाइएका धेरै संरचनाहरू छन् । जसका कारण बर्सातको समयमा उर्लाबारी डुबानमा पर्ने गरेको छ भने नक्सा पास विना बनाइएका अवैध संरचनाहरूका कारण सार्वजनिक बाटोहरू साँगुरिएका छन् । जसले गर्दा बाटोमा दुर्घटनाको उच्च जोखिम पनि छ ।
उर्लाबारीमा अघिल्लो स्थानीय सरकारका पालामा निवर्तमान मेयर खड्ग फागोले अवैधरुपमा निर्माण हुँदै गरेका संरचनाहरू र सडकमा राखिएका निर्माण सामाग्रीलाई हटाएर उर्लाबारीलाई फराकिलो र सफा बनाउने अभियान चलाएका थिए ।
उनले त्यसताका अवैध रूपमा सडक क्षेत्राधिकार मिची निर्माण थालिएको उर्लाबारी ३ मा अम्बिका खतिवडाको संरचना र उर्लाबारी ४ मा निर्माण भएको केशव सुवेदीको संरचनामा डोजर चलाएर पहुँचका भरमा मन मर्जी गर्नेहरूलाई सबक सिकाएका थिए । सार्वजनिक बाटो, कुलो, पैनी मास्नेमाथि फागोले कानुनी डन्डा चलाएर बिचौलियाहरूलाई साइजमा ल्याएका थिए ।
उर्लाबारीमा यो ‘एट एक्सन’ मा काम भएका उदाहरणहरू मात्रै हुन तर अझै पनि उर्लाबारीमा सार्वजनिक पैनी र पार्किङ मिचेर बनाइएका नक्साविहीन संरचनाहरू यथावत् नै छन् ।
उर्लाबारीमा सार्वजनिक पैनी मिचेर निर्माण गरिएको भन्दै निकै चर्चामा आएको उर्लाबारी ३ का प्रकाश थापाको संरचना, उर्लाबारी हाट खोलामा बाटो मिचेर निर्माण गरिएको आनन्द फागको संरचना, पङ्कज शाक्यको संरचना लगायत पार्किङ मिचेर बनाइएका अन्य थुप्रै संरचनाहरू भए तापनि नगरपालिकाले त्यस्ता संरचना हटाउन वा नियमसंगत रूपमा कार्यान्वयन गराउन अहिले सम्म कुनै कदम चालेको छैन । थापाले पैनी मिचेर बनाएको घरका कारण पैनी नै गायब भएपछि थापामाथि मुद्दा परेको थियो । अदालतले पैनी खाली गर्न थापालाई आदेश दिए पनि अहिले सम्म थापाले अदालतको आदेशलाई बर्खिलाप गर्दै आएका छन् । नगरपालिकाले पनि अदालतको आदेशलाई कार्यान्वयन गराउने प्रति कुनै चासो दिएको छैन ।
उर्लाबारीमा विशेष गरी व्यापारिक प्रयोजनका लागि बनाइएका संरचनाहरूमा निरीक्षण गर्ने हो भने अवैध रूपमा नक्सा पास विना बनाइएका थुप्रै संरचनाहरू भेटिन्छन् । तर यस तर्फ वर्तमान स्थानीय सरकारले अहिले सम्म कुनै एक्सन लिएको छैन ।
उर्लाबारीको बढ्दो सहरीकरण र जनघनत्वलाई हेर्ने हो भने अवैध रूपमा निर्माण गरिएका संरचनाहरूमा समयमै एक्सन लिइएन भने भावीसन्ततीका लागि टाउको दुखाईको विषय बन्न जानेमा दुई मत छैन ।