सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन प्रधानमन्त्री देउवालाई चर्काे दबाब दिएका हुन् ।
व्यापक रूपमा आलाेचना हुँदा पनि अर्थमन्त्री शर्मालाई हटाउन तत्पर नदेखिएपछि देउवा माथिसमेत नेताहरूले प्रश्न उठाउन थालेका छन् ।
‘अर्थमन्त्रीको अयोग्यता छताछुल्ल छ । अर्थतन्त्रमा यसले नकारात्मक असर पारेको छ । गभर्नर निलम्बन प्रकरण एउटा दृष्टान्त हो’, कांग्रेस नेता गुरु घिमिरेले भनेका छन् ‘अहिले आएर सीसीटीभी फुटेज मेटाउनुले उहाँको थप अयोग्यतालाई दर्शाउँछ । के नेपालमा अर्थमन्त्री हुने अरु मान्छे छैनन् ? प्रधानमन्त्रीले मन्त्री फेर्नु पर्दैन ?´
बजेटको अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ । करको दर हेरफेर गर्न राजस्व प्रशासनका पूर्वकर्मचारी रघुनाथ घिमिरेलाई मन्त्री शर्माले मन्त्रालयमा छिराएकाे आराेप छ ।