काठमाडौं, ३० कात्तिक । एनआइसि एसिया बैंकबाट पीडीत ग्राहक तथा ऋणीहरुले आन्दोलन गर्ने भएका छन् । केहीदिन अघि काठमाडौंमा भेला भएर बैंकबाट पीडित भएको भन्दै उनीहरु आन्दोलित हुने भएका हुन् । सो बैंकले पीडित बनाएको भन्दै ‘एनआइसी एसिया बैंक पीडीत समूह’ नै गठन गरेर उनीहरु आन्दोलित बनेका हुन् ।
केही दिन अघि नयाँ बानेश्वरमा बसेको पीडीतहरुको बैठकले सात सदस्यीय समिति समेत गठन गरेको छ । एनआइसी एसिया बैंक पीडीत समूह’ को नेतृत्व . कार्कीले गरेका छन् ।
सो समूहले बैंकले दिएको पीडाकाबारे भण्डाफोर गर्ने, एनआइसी एसिया बैंकमा विभिन्न दबाबमूलक कार्यक्रम गर्ने, राष्ट्र बैंकमा बैंकले गरेका गलत कामहरुको पर्दाफास गर्ने लगायतका काम गर्नेगरी समुह गठन गरिएको संयोजक कार्कीले जानकारी दिए ।
उनले पीडित समुहमा एनआइसी एसिया बैंकले मनपरी ढंगले ब्याज बढाएर पीडित भएकादेखि बैंकले सम्पत्ति अनुचित तरिकाले लिलाम गरेकोसम्मका पीडीतहरु रहेको बताए ।
उनका अनुसार केही पीडीतहरुले आफ्नो परिचय गोप्य राख्ने र कतिपयले अग्रभागमा उभिएर बैंकविरुद्ध विरोधमा उत्रिने भएका छन् । कार्कीले आफ्नो समुहले चाँडै बैंकको मनपरी विरुद्ध चरणबद्ध विद्रोहको तयारी गरिरहेको बताए ।