सोमबार ७३ अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नेप्से सूचक ७० दशमलव ०१ अंकले घटेर २६१५ दशमलव ४० अंकमा आइपुगेको हो । नेप्से सूचकसँगै आज सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ४२ अंकले घटेर ४९४ दशमलव ४२ अंकमा आइपुगेको छ ।
कारोबार सुरु भएको ३० मिनेटमा ४१ अंकले घटेको नेप्सेले त्यसपछि पनि आजकै उच्चतम विन्दु कायम गर्न पुग्यो । त्यसपछि ११ बजेर ४८ मिनेट पुग्दा पुन: नेप्से ५२ अंकले बढेर २६९४ विन्दुमा पुग्यो । यसरी अस्थिर बनेको नेप्से २६६४ अंकमा पुगेपछि भने निरन्तर ओरालो लाग्दा २६१५ अंकमा आइपुगेको हो ।
मंगलबार कारोबारमा आएका २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता शेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपैयाँमा किनबेच भयो ।
नेप्से सूचकको निरन्तर गिरावटसँगै कारोबार रकम भने संकुचित बन्दै गएको छ । निरन्तर शेयरबजार राताम्मे बनेसँगै लगानीकर्ता अन्योलमा देखिन्छन् भने पर्ख र हेरको नीति अपनाउँदा पनि कारोबार रकममा वृद्धि हुन सकेको छैन ।
राताम्मे बजारमा उपसमूहतर्फ वित्त समूहको सूचक धेरैले घटेको छ । यो समूहको सूचक ७ दशमलव ३७ प्रतिशतले घटेको छ भने यससँगै हाइड्रोको ४ दशमलव ७४, लगानी ३ दशमलव ९३, निर्जीवन बीमा २ दशमलव ७८, माइक्रोफाइनान्स २ दशमलव २३ प्रतिशतले सूचक घटेको छ ।
कारोबारमा आएका सबै समूह राताम्मे बन्दा १ सय ७३ कम्पनीको शेयरमूल्य घटेको छ भने १० कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । जसमा मनकामना स्मार्ट लघुवित्तको १० प्रतिशतले शेयरमूल्य बढ्दा मैलुङ खोला जलविद्युत्को ९ दशमलव ९९ प्रतिशतले शेयरमूल्य बढेको छ । घट्नेमा भने हिमालयन पावर र नेपाल हाइड्रो डेभलपर्सको १० प्रतिशतले शेयरमूल्य शेयरमूल्य घटेको छ । गोर्खाज फाइनान्स, जोशी हाइड्रोपावरलगायतका कम्पनीको भने सर्किट लेबलमै मूल्य घटेको छ ।