काठमाडौं, ११ असोज । काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखियो ।
विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखियो । विराटनगरमा ल्यान्डिङ गर्न समस्या आएपछि जहाज काठमाडौंमा फर्कियो ।
त्यतिञ्जेल जहाजमा रहेका तीन बच्चा र अन्य ७० यात्रु निकै त्रसित भइसकेका थिए । यात्रुलाई प्राविधिक समस्याका विषयमा जानकारी गराइएको थियो ।
विराटनगरबाट तत्काल काठमाडौं फर्काइए पनि लामो समय आकाशमा होल्ड गरिएपछि यात्रु निकै त्रसित भएका थिए । दुई घण्टा आकाशमा फन्काे लगाएकाे जहाज साढे १० बजे मात्रै त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भयो ।
त्यतिञ्जेल विमानस्थलमा फर्म बिछ्याउने, एम्बुलेन्स र दमकल तयार पार्ने काम गरिएको थियो । विमान क्यापेट आङ्गेलो शेर्पाले चलाएका थिए ।