खोटाङ, २ असोज । खोटाङमा डेंगुका बिरामी भेटिएका छन् । हप्ता दिनको अवधिमा डेंगुका आठ जना बिरामी भेटिएको जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले बताए ।
हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाँच जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका एक जना, रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका एक जना र दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका एक जनालाई डेंगु लागेको पुष्टि भएको छ । शुक्रबार दुई जनालाई डेंगु पोजिटिभ पुष्टि भएको सुपरिटेण्डेण्ट डा. मल्लिकले बताए ।
संक्रमितमध्ये शरीरमा रगत कम भएका एक बिरामीलाई जिल्ला अस्पतालले ३० भदौमा अन्यत्र रेफर गरेको थियो । डेंगुका दुई जना बिरामी भने हाल जिल्ला अस्पतालमै उपचाररत छन् ।
अन्य बिरामी भने घरैमा उपचारमा रहेको डा. मल्लिकले बताए । साकेला गाउँपालिकामा पनि डेंगुका बिरामी भेटिएको जनाइएको छ । यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ ।