कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताएका छन् ।
शुक्रबार कोसी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोसी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुगेका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागी आवश्यक रहेको बताएका हुन् ।
उनले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गर्नु पर्ने बताए । उनले एमसीसी विकास परियोजना भएकाले यसका विषयमा राजनीति गर्नु नहुने बताए ।
एमसीसी संसदबाट पास गराउन सबै दलहरुबीच सहमतिको खाँचो रहेको उनको भनाइ छ । मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताए ।
संसदभित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै मन्त्री कार्कीले केही दिनभित्रै राजनीतिक निकास निस्कने बताए ।