एजेन्सी, २३ असार । हिन्दी सिनेमाका दिग्गज अभिनेता दिलीप कुमारकाे निधन भएकाे छ । उनलाई गत महिना सासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईकाे हिन्दुजा अस्पतालमा भर्ना गरिएकाे थियाे । साेही अस्पतालमा ९८ वर्षीय दिलीप कुमारले अन्तिम सास लिएका हुन् । दिलीप कुमारकाे निधनकाे खबरले त्यहाँकाे चलचित्र जगत शोकमा डुबेकाे छ ।
गत वर्ष दिलीप कुमारका दुई भाइ ८८ वर्षीय असलम खान र ९० वर्षीय एहसान खानकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे थियाे । दिलीप कुमारकाे जन्म ११ डिसेम्बर १९२२ मा पाकिस्तानमा भएकाे थियाे । उनकाे नाम पहिला यूसुफ खान थियाे । पछि उनले पर्दामा दिलीप कुमारकाे नामबाट ख्याती कमाए । नामचाहिँ उनले एक प्रोड्यूसरकाे सुझावअनुसार फेरेका थिए ।
दिलीप कुमारकाे सुरुआती पढाइ नासिकमा भयाे । पछि उनले फिल्महरूमा अभिनय गर्ने निर्णय लिए । र, सन् १९४४ मा रिलीज भएकाे फिल्म ज्वार भाटादेखि डेब्यू गरे । सुरुआती फिल्म नचले पनि अभिनेत्री नूर जहाँ र उनकाे जोडी धेरैले मन पराए ।
जुगनू दिलीप कुमारकाे पहिलाे हिट फिल्म हाे । दिलीपले लगातार कैयाैँ हिट फिल्म दिएका छन् । उनकाे फिल्म मुगल-ए-आजम त्याे बेला सबैभन्दा बढी कमाइ गरेकाे फिल्म थियाे । अगस्ट १९६० मा रिलीज भएकाे याे फिल्म त्याे बेलाकाे सर्वाधिक महँगाे लागतमा बनेकाे थियाे ।