काठमाडौं, ८ माघ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । लगातार उकालो लाग्दै आएको बजार दोहोरो अंकले उकालो लागेर नयाँ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३१.८७ बिन्दुले उकालो लागेर दुई हजार ३७४.६४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार माापन गर्ने सेन्सेटिभ परिसूचक २.५९ ले उकालो लागेर ४४५.५९ मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत आज राम्रै प्रभाव देखिएको छ ।
कूल २०९ कम्पनीका एक करोड ८१ लाख पाँच हजार ६७१ कित्ता शेयर रु सात अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३.८३ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ । निर्जीवन बीमा, जीवन बीमा र लघुवित्त उपसमूहमा बहार आउँदा बजारले नयाँ लय समातेको छ ।