नेपाल-भारत संयुक्त आयोगको छैठौँ बैठकमा सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने र सीमा विवाद टुंग्याउने विषयमा भारतसँग सकारात्मक संवाद भएको छ ।
भारत भ्रमणबाट फर्किएपछि विमानस्थलमा सञचारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद टुंगो लगाउन गहन छलफल गर्दै सकारात्मक निष्कर्षतर्फ बैठक अघि बढेको बताए ।
‘यस भ्रमणबाट नेपाल र भारतबीच रहँदै आएको घनिष्ठ, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने दिशामा योगदान पुगेको मेरो विश्वास छ’, परराष्ट्रमन्त्री ज्ञवालीले भने । भ्रमणका क्रममा रेल, हुलाकी राजमार्ग, भैरहवा चेकपोष्ट, सीमानाका खुला गर्नेलगायतका १८ बुँदामा निर्णय भएको उनको भनाइ छ ।