साँझ ५ बजेका लागि डाकिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । अध्यादेश फिर्ता नगरिएसम्म प्रमुख दलका नेता शेरबहादुर देउवा बैठकमा नजाने अडान लिएपछि आजको बैठक स्थगित भएको हो ।
पार्टीको निर्णयविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक डाकेपछि स्थगितका लागि दबाब दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले बुधबारको स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले आज साँझका लागि बैठक डाकेका थिए ।
प्रधानमन्त्रीसहित तीन जना उपस्थित हुँदा बैठक बस्न सक्ने र त्यसबाटै बहुमतीय आधारमा नियुक्ति गर्न सक्ने प्रावधानसहित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले मंगलबार जारी गरेको थियो । सो अध्यादेशबमोजिम बैठकमा तीन जना उपस्थित भए गणपूरक संख्या मानिने व्यवस्था रहेको छ ।
अध्यादेशविरुद्ध सर्वोच्चमा रिट परेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित हुन असमर्थ थिए भने प्रमुख प्रतिपक्षी दलका नेता पनि नआउने भएपछि गणपुरक संख्या नपुग्ने देखेपछि प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेका हुन् । यता, सभामुख अग्निप्रसाद सापकोटालाई संवैधानिक परिषद्को बैठकबारे जानकारी नआएको उनको सचिवलायले जनाएको छ ।