काठमाडौं, २१ मंसिर-नेकपा अध्यक्ष तथा प्रधानमन्त्री धुम्बाराहीमा बसिरहेको स्थायी कमिटी बैठकमा नआउने भएका छन् । कोरोना भाइरसको संक्रमणको डर रहेको भन्दै प्रधानमन्त्री ओली बैठकमा नआएका हुन् ।
आजको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ल्याएका फरक फरक प्रस्तावमाथि छलफल हुदैछ ।
बहुमत आफ्नो विपक्षमा भएपछि ओली यसअघि बालुवाटारमा नै बसेको सचिवालय बैठकमा समेत अनुपस्थित भएका थिए । उनी पार्टीको विवाद सचिवालयमा नै हल गर्नुपर्ने भन्दै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको विपक्षमा रहँदै आएका थिए ।
तर अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झनलाथ खनाल र माधवकुमार नेपालसहितका बहुमत नेताहरु पार्टीको विवादका विषयमा छलफल हुनुपर्ने अडानमा छन् ।
अध्यक्ष ओलीले आफू स्थायी समितिको बैठकमा नआउने र अध्यक्ष तथा प्रधानमन्त्रीको पद समेत नछाड्ने सन्देश यसअघि नै दिएका थिए । अन्य नेताहरुले भने ओली अनुपस्थित भएपनि पार्टीको पूर्वनिर्धारित बैठक नरोकिने बताउँदै आएका छन् ।
सोही अनुसार धुम्बाराहीमा आइतबारदेखि स्थायी कमिटीको बैठक सुरु भएको हो ।