एजेन्सी, १९ मंसिर-अमेरिकाका तीन जना पूर्व राष्ट्रपतिले कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । अमेरिकी पूर्वराष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र बिल क्लिन्टनले टेलिभिजनको लाइभ प्रशारणमा नै कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।
यसको उद्देश्य भनेको जनतालाई कोरोनाविरुद्धको खोप सुरक्षित रहेको विश्वास दिलाउनु र खोपबारेको आशंका हटाउनु हो । यस्तै राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले स्वीकृति दिएपछि आफूहरुले खोप लगाउने घोषणा गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्प भने यो विषयमा अहिलेसम्म मौन रहेका छन् । गत नोभेम्बरमा राष्ट्रपति निर्वाचन हुनुअघि उनले डिसेम्बरसम्ममा अमेरिकी जनताले कोरोना भाइरसविरुद्धको खोप पाउने बताउदै आएका थिए ।
‘द गार्जियन’ को रिपोर्ट अनुसार उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले कोरोना विरुद्धको खोप नलगाउने आशंकाबारे जवाफ दिँदै आफूले स्वीकृति पाएपछि खोप लगाउने र यसमा कुनै दुई थरी धारणा आवश्यक नभएको बताएकी छन् ।
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले पनि खोप लगाउने र यो खोप सबैका अघि लगाउन चाहेको उल्लेख गरेका छन् । अमेरिकाका तीन पूर्वराष्ट्रपतिहरु ओबामा, बुस र क्लिन्टनले पनि टेलिभिजनको लाइभ कार्यक्रममा नै खोप लगाउने घोषणा गरेका गरेका छन् । उनीहरुले आफूहरुले एफडीएको स्वीकृति मात्रै पर्खिरहेको उल्लेख गरेका छन् ।
तीन पूर्वराष्ट्रपतिसहितको सीएनएनको कार्यक्रममा बाइडेनले भने, ‘अमेरिकाका हरेक राज्य यो खोप पहिले आफूले पाउनुपर्ने चाहाना राख्छन् । म आफैं पनि यो खोप लगाउने पखाईमा छु । मैले मेरा पूर्वराष्ट्रपतिहरुबाट जिम्मेवारी निभाउन पछि हट्न हुँदैन भन्ने कुरा नै सिकेको छु ।’
हालसम्म एफडीएले कोरोना भाइरसविरुद्धको खोपलाई औपचारिक रुपमा मान्यता दिएको छैन । त्यसैले खोप लगाउन तीन पूर्व राष्ट्रपतिका साथै बाइडेन र ह्यारिसले केही समय पर्खिनुपर्नेछ ।
अमेरिकामा यो खोपलाई मान्यता दिने प्रक्रिया अघि बढेको भए पनि त्यहाँ गरिएको एक सर्वेक्षणमा ४० प्रतिशतले खोपबारे आशंका रहेको बताएका थिए । मानिसहरुमा साइड इफेक्ट र गम्भीर रिएक्शन देखिनसक्ने आशंका छ ।