विराटनगर । विराटनगर – ७ स्थित मेरिल्याण्ड कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई शैक्षिक कृषि अवलोकन भ्रमणको आयोजना गरेको छ। सामाजिक शिक्षा विषयको प्रोजेक्ट वर्क अन्तर्गत यस कार्यक्रममा ६०० भन्दा बढी विद्यार्थीहरुले रानी दरैया स्थित बञ्जारा कृषि फार्मको भ्रमण गरे।
फार्म भ्रमणका क्रममा विद्यार्थीहरुले उन्नत जातका गाईपालन र अर्गानिक तरकारी खेतीका विविध पक्षहरुको अवलोकन गरे। फार्मका निर्देशक शुनिल शर्मा र अन्य कर्मचारीहरुले विद्यार्थीहरुका जिज्ञासाहरुको समाधान गर्दै फार्मसम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरे।
मेरिल्याण्ड कलेजका निर्देशक भेषराज पोखरेलका अनुसार कक्षा ११ को सामाजिक शिक्षाको पाठ्यक्रममा कृषि फार्मको स्थलगत अध्ययन भ्रमण समावेश गरिएको छ, जसका कारण कलेजले प्रत्येक वर्ष यस्ता भ्रमणहरु गराउँदै आएको छ।
प्रिन्सिपल लक्ष्मण ढकालले मेरिल्याण्ड कलेज शैक्षिक क्षेत्रमा मात्र नभई अतिरिक्त क्रियाकलापहरुमा समेत अग्रणी रहेको बताए। कार्यक्रममा कलेजका कोअर्डिनेटरहरु मनिष पोख्रेल र गणेश दाहालले विद्यार्थीहरुलाई भ्रमणको सहजीकरण गरेका थिए।
कोशी प्रदेशमा व्यवस्थापन शिक्षाको अग्रणी संस्थाको रुपमा स्थापित मेरिल्याण्ड कलेजले आगामी शैक्षिक सत्रदेखि विज्ञान संकाय पनि सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। यसले कलेजको शैक्षिक दायरालाई अझ विस्तार गर्नेछ।
विद्यार्थीहरुको उत्साहजनक सहभागिताले यस्ता व्यावहारिक शिक्षाको महत्त्व दर्शाएको छ। मेरिल्याण्ड कलेजको यो पहलले विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्न सहयोग पुर्याएको छ।