एजेन्सी, २० कात्तिक-अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । हालसम्मको मतपरिणामअनुसार डेमोक्र्याट पार्टीका उम्मेदवार जो बाइडेनले महत्वपूर्ण अग्रता कायम गरेका छन् । उनले पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत उछिनेर सर्वाधिक मत पाउने राष्ट्रपतिका उम्मेदवार बनेका छन् ।
जो बाइडनले आफ्नो महत्त्वपूर्ण अग्रतापछि भने, ‘जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौं ।’ राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन, पेन्सल्भेनिया र जर्जियामा मतगणना रोक्न माग गर्दै कानुनी प्रक्रिया अघि बढाएको छ। त्यसअघि ट्रम्पको चुनावी अभियानले विस्कन्सिनमा पुनः मतगणना माग्ने जनाएको थियो।
अहिलेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ । अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए ।
अहिलेसम्मको परिणामअनुसार डेमोक्र्याट उम्मेदवार जो बाइडनले अग्रता लिएका छन् । यद्यपि अझै स्पष्ट रूपमा कसले जित्छ भनेर भन्न सकिने अवस्था भने आइसकेको छैन ।
अन्तिम परिणाम ‘ब्याटलग्राउन्ड स्टेट’ भनिने एरिजोना, जर्जिया, विस्कन्सिन र पेन्सिल्भेनियाले निर्धारण गर्नेछन् । अहिलेसम्म टेक्सास, ओहायो र फ्लोरिडासहित २३ वटा राज्यमा ट्रम्प विजयी हुने देखिएको छ । यी राज्यमा मतसर्वेक्षणमा देखिएकोभन्दा राम्रो मतान्तरले ट्रम्प अघि देखिएका छन् ।
राष्ट्रपति ट्रम्पले धाँधली भएको आरोप लगाउँदै मतगणनालाई सर्वोच्च अदालतमा चुनौती दिने बताइसकेका छन् । ट्रम्प पक्षधरले पेन्सिल्भेनिया, विस्कन्सिन, जर्जिया र मिशिगनमा मतगणना रोक्न कानुनी प्रक्रिया अघि बढाएपछि बाइडेन पक्षधरहरूले ट्रम्पको टिप्पणीलाई आपत्तिजनक भन्दै मतगणना जारी राख्न माग गरेका छन् ।
अमेरिकामा यो निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको अनुमान गरिएको छ । यो अमेरिकामा १२० वर्षमा सर्वाधिक मतदान हो । मतगणना जारी रहेपनि अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।