एजेन्सी, १९ कात्तिक-अमेरिकी राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अब मतपरिणामको पर्खाई सुरु भएको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ । केही राज्यको नतिजा आउन सुरु भएको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएको छ भने पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको थियो ।
कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेको थियो । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो मत खसालेकी थिइन्। श्रीमान्सँग मत नखसाल्नुको कारणबारे पत्रकारहरूले सोधेपछि उनले भनिन्, ‘आज निर्वाचनको दिन हो। त्यहीँ भएर मत खसाल्न म यहाँ आएकी हुँ।’
राष्ट्रपति ट्रम्पले एक साताअघि नै आफ्नो मत खसालिसकेका थिए । यसपटकको निर्वाचनमा करिब १० करोड मतदाताले अग्रिम मतदान गरेका छन् ।
गएराति भएको मतदानमा पनि उत्साहप्रद सहभागिता देखिएको थियो । चुनाव अघिका मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति बाइडेन अघि देखिए पनि इलेक्ट्रोल कलेजका लागि महत्वपूर्ण रहेका केही राज्यमा प्रतिस्पर्धा निकै कडा रहेको देखिएको छ ।
७४ वर्षका डोनाल्ड ट्रम्प पराजित भएमा दोस्रो कार्यकालका नजित्ने सन् १९९२ पछिका पहिलो राष्ट्रपति हुने छन् । त्यसबेला जर्ज एचडब्लु बुसले दोस्रो कार्यकालका लागि निर्वाचन जित्न असफल भएका थिए ।