मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोभिड- १९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँचवृद्धि गरिएको समेत जानकारी दिए । ‘मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड- १९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ,’ उनले भने, ‘अक्सिजन र आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना हित प्रभावकारी व्यवस्था मिलाएको छ ।’
मन्त्री ढकालका अनुसार देशभरी भेन्टिलेटरसहितको २६ सय सघन उपचार कक्ष (आइसीयू) तयारी अवस्थामा र थप ४ सयको निर्माण भइरहेको तथा अक्सिजन र मनिटरसहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ । यसले कोभिड- १९का सिकिस्त बिरामीको उपचारलाई सहज बनाउने उनको भनाइ छ ।
मन्त्री ढकालले कोभिड- १९ को महामारीविरूद्धको लडाइमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग आभार व्यक्त गर्दै रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय मास्कको उचित प्रयोग, भौतिक दुरी कायम गर्ने र पटकपटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु रहेको स्मरण गराए ।
उनले तोकेका कोभिड-१९ का अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताए । ‘विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपाङ्गता भएका, ७० वर्ष पुगेका ज्येष्ठ नागरिक, अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीको निशुल्क परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने, ‘यो वर्गमा नपरेका सबै कोभिड-१९ को उपचारका लागि अस्पतालमा पुगेपछि आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिश गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिको परीक्षण र उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको छ ।’ रासस