जितिया मैथिल संस्कृतिको पर्वमध्ये एउटा प्रमुख पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ । यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यसलाई खर जितिया पनि भनिन्छ । कुनै व्यक्ति ठूलो दुर्घटनाबाट बाँच्न सफल भयो भने उनकी आमाले खर जितिया गरेकी रहिछिन् भन्ने मान्यता पनि छ ।
भविष्य पुराणअनुसार जिमुतवाहन शालिवाहन राजाका पुत्र थिए । उनीमाथि महादेवको असीम कृपा रहेकाले उनको नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान उनले प्राप्त गरेका थिए । आज अष्टमीका तिथिमा व्रतार्थीले पूर्णतया निराहार बसी साँझपख जिमुतवाहन, चिल र स्याल विषयक कथा सुन्ने गर्छन् । कथा सुन्ने बेलामा व्रतार्थीले आफ्नो पाइतालामुनि एउटा खर राख्नु पर्ने हुन्छ । कथा समाप्त भएपछि पाइताला मुनिको खरलाई ६ टुक्रा पारी तीनतीन पटक गरी शरीरको अगाडि र पछाडि फ्याँकिने गरिन्छ । यो भावले पारिवारिक जीवन सुखमय होस् भन्ने कामना बोकेको पाइन्छ ।
नवमी तिथिमा स्नानादि गरी पवित्र भई जिमुतवाहन, चिल र स्याल र दिवंगता महिलालाई नैवेद्य अर्पण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी यो व्रतको पारण गरिन्छ । पारणका दिन अंकुरी ९भिजाइएको केराउ० सहित पकाइएको साग खाने प्रचलन छ । यसप्रकार यो व्रतले करिब तीन दिनको अवधि समेटेको हुन्छ ।
जितिया व्रतमा कुनै शास्त्रीय देवताको नभई लोकदेवता जितवाहनको आराधना गरिने भएकाले यसलाई जीवितपुत्रिका व्रत पनि भनिन्छ । यस व्रतको पहिलो दिन सप्तमी तिथिमा नहायखाय, तेलखरि, पितराइन र ओठङ्नको विधि गर्ने चलन छ । जितिया पर्वमा प्रयुक्त हुने तोरी वा सस्र्यूको तेल, पिना, घिरौँलाको पात, नैवेद्यका वस्तु स्वास्थ्य र संस्कृतिका दृष्टिले महत्वपूर्ण छन् । व्रतको एक दिन पहिले कोदाको रोटी र माछा तथा एक दिनपछि केराउ मिसाइएको साग खानुपर्ने व्यवहारले मिथिलाको खानपान र विविधताको पहिचान पनि गराउँछ ।
यस्तै ओठङ्नका समयमा पानी खाने बेलामा भनिने मन्त्रले दाजुभाइ तथा दिदीबहिनीबीच आत्मीयताको बोध गराएको हुन्छ । चिल र स्याललाई नैवेद्य चढाइनाले पशुपक्षीप्रति समेत आत्मीयता र श्रद्धा प्रदर्शित भएको देखिन्छ । रासस