जनकपुरधाम, १३ धदौ–मैथिल ब्राह्मण महासभाले धनुषा जिल्लाको विभिन्न स्थानका ब्राह्मणहरुलाई कोरोनाबाट बच्न आवश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । अन्यदेश सरह नेपालमा पनि कारोना संक्रमण बढीरहेको बेला संक्रमणवाट बच्न महासभाका संगठनमा रहेका पदाधिकारीका साथै अन्य विपन्नका लागि १० हजार मास्क, ५ सय सेनिटाइजर र फेस सिल्ड वितरण गरिएको हो ।
जनकपुरधाम उपमहानगरपालिका ७ स्थित निर्माण भइरहेको मैथिल सांस्कृतिक अध्ययन केन्द्र स्थलमा वितरण गरिएको सो कार्यक्रममा २२ गाउँपालिका र जनकपुरधामको सबै वडाका ब्राह्मण प्रतिनिधिहरुको सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा कोरोना भाइरसबाट बच्न अनिवार्य मास्क लगाउनका साथै सामाजिक दूरी बनाउन महासभाका अध्यक्ष भगवान झाले आग्रह गरे । उनले घरबाट ननिस्कन समेत ब्राह्मण सहित सम्पूर्ण धनुषावासीलाई आग्रह गरे ।
यसप्रकारको मास्क र सेनिटाइजर अन्य जिल्लामा पनि वितरण गरिने महासभाको योजना रहेको अध्यक्ष झाले बताए । महासभाले नेपाल पत्रकार महासंघ धनुषालाई पनि एन ९५ मास्क १०० थान, २५ थान फेस सिल्ड र ५० थान सेनिटाइजर वितरण गरेको छ । सक्रिय पत्रकारहरु बढी जोखिममा रहेकाले सो सामग्री प्रदान गरिएको हो ।
यो संस्थाले विगतका दिनहरुमा सामुहिक व्रतबन्घ,मधुश्रावण्नी,विचार गोष्ठि लगायतका कार्यहरु गराउदै आएको छ । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण सो कार्यहरु यस वर्ष स्थगित गर्नुपरेको महासभाका अध्यक्ष झाले जानकारी दिए । उनले सो कार्य गर्न असफल भएकै कारण यो वर्ष स्वास्थ्य सामग्री वितरण गरेको बताए ।