एजेन्सी, साउन २६-भारत कोरोना भाइरस (कोभिड–१९) को महामारीले हायलकायल बनेको छ । भारतमा २२ लाख संक्रमित छन् । अहिलेसम्म ४४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना संक्रमणको मामिला बढ्दो छ ।
तर, छिमेकी भुटान भने कोरोनाविरुद्ध विजयतिर उन्मुख देखिएको छ । ६ मार्चमा पहिलो केस देखिएको भुटानमा संक्रमितको कुल संख्या १ सय ८ छ । यीमध्ये ९६ जना निको भइसकेका छन् ।
अहिले जम्मा १२ वटा मात्रै एक्टिभ केस रहेको वर्ल्ड मिटरको तथ्याङ्कले देखाउँछ । कोरोनाका कारण भुटानमा अहिलेसम्म कसैको मृत्यु भएको छैन । भुटानी सञ्चारमाध्यमका अनुसार कुनै पनि बिरामी मृत्यु हुने अवस्थामा छैनन् । केही दिनभित्रै भुटानमा एक्टिभ केस १ अंकमा झर्ने देखिएको छ ।
कुल जनसंख्या ७५ लाख ४ हजार ३ सय ९४ रहेकाे भुटान सामाजिक (भौतिक) दूरीको नियमकै भरमा कोरोना संक्रमण राेकथाम गर्न सफल भएको छ । भुटानमा सामाजिक दूरी कायम गरी सार्वजनिक यातायातका साधन चलिरहेका छन्, सुपरमार्केट खुलै छन् । तर, धैरै भीडभाड हुने खालका कार्यक्रम आयोजना गर्न भने निषेध गरिएको छ ।