काठमाडौं, १४ असार-प्रधानमन्त्री केपी शर्मा ओलीले साँझबिहान भात खाने प्रचलन बढेकाले भारतबाट वर्षेनी ठूलो मात्रामा धान आयात भइरहेको बताएका छन् । ‘पछिल्ला केही वर्षहरुमा जनसंख्या बृद्धिको साथै जनताको आर्थिक अवस्थामा सुधार आई दुबै छाक भात खाने प्रचलन र मसिनो चामलको उपभोगमा भएको वृद्धिले समेत धान चामलको मागमा तीब्र बृद्धि हुँदै आएको छ’, प्रधानमन्त्री ओलीले आज १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सवका अवसरमा सन्देश जारी गर्दै भनेका छन्, ‘माग अनुसारको आन्तरिक उत्पादन नहुँदा वर्षेनी ठूलो धनराशी धान चामल आयातमा खर्चिनु परेको छ ।’
उनले दुबै छाक भात खाने प्रचलने मुलुकको परनिर्भरता समेत बढाएको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले प्रमुख खाद्यान्न बालीका रुपमा रहेको धानको उत्पादन वृद्धि गरेर दीगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर नीति तथा योजना तर्जुमा कार्यान्वयनमा ल्याएको उल्लेख गरेका छन् ।
उनले सिँचाई सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, सहुलियत दरमा गुणस्तरीय बीउ तथा मलखादको व्यवस्था, प्रविधि विस्तार र किसानलाई प्राविधिक सहायता एवं ज्ञान उपलब्ध गराउने, सार्वजनिक वितरण प्रणालीमा सुधार गर्ने, न्यूनतम समर्थन मूल्यको घोषणा र कार्यान्वयन गर्नेजस्ता विषयमा सरकारले जोड दिँदै आएको बताएका छन् । प्रधानमन्त्री ओलीले देशमा दीगो खाद्य सुरक्षा र आत्मनिर्भरता कायम गर्न तीनवटै तहका सरकारको समन्वयात्मक र एकीकृत प्रयास हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।