धनुषा, १४ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, महोत्तरी र पर्सामा गरेर थप २९ जनामा कोरोना पुष्टि भएको हो ।
प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणका धनुषाका ३ जना, महोत्तरीमा २४ जना तथा पर्साका २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । धनुषाको गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनमा १९, २२ र ३५ वर्षका पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।
त्यस्तै, महोत्तरीको सम्सी नगरपालिकामा १४ वर्ष देखि ३३ वर्षका ४ जना पुरुष, औरही नगरपालिकाको क्वारेन्टाइनमा १ वर्षकी एक बालिका र एकै वर्षका अर्का एक बालकसहित ३९ देखि ४५ वर्षका १० जना तथा लोहपट्टी नगरपालिकामा २० वर्षदेखि ३८ वर्षसम्मका १० जना पुरुषमा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यसैगरी, पर्साको कामु प्यालेस होटलमा ३२ वर्षका पुरुष तथा ३२ वर्षका महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका सचिव डा. घिमिरेले जानकारी दिए ।
पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकासहित सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार १९ जना पुगेको छ । जसमा २ सय महिला तथा ३ हजार ११९ जना पुरुष रहेका छन् ।
पछिल्लो पटक सङ्क्रमितबाट घर परिवारमा पनि सरेकाले बालबालिकामा सङ्क्रमण बढ्दै गएको स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले जानकारी दिए । सङ्क्रमित घर परिवारको सम्पर्कमा आउनु चिन्ताको विषय भएको उनले उल्लेख गरे ।
प्रदेश २ को विभिन्न आइसोलेसन सेन्टरहरूमा उपचारमा रहेका २४ जना कोरोनाका बिरामी सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको संख्या १ हजार ४ सय १५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।