काठमाडौं, ६ असार-भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्नका लागि दुवै देशलाई आग्रह गरेको छ । लद्दाखको गलवान घाटीमा भएको भारत-चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा भएको २० भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त घटनाको भारत र चीनले एकअर्कालाई आरोपप्रत्यारोप लगाइरहेका बेला नेपालले शान्तिपूर्ण तरिकाले समस्याको समाधान गर्न आग्रह गरेको हो ।
शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै क्षेत्रीय र विश्व शान्तिका लागि नेपाल सधैँ दृढ रहेको उल्लखे गर्दै दुवै मुलुकहरू बीचको विवादलाई शान्तिपूर्ण ढंगबाट सुल्झाउनु पर्नेमा जोड दिएको छ ।
‘छिमेकी छिमेकी भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा हालसालै भएका घटनाक्रमको सन्दर्भमा नेपाल विश्वस्त छ कि दुवै छिमेकी देशहरू असल छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र पक्षधरताको पक्षमा शान्तिपूर्ण ढंगबाट समाधान गर्नेछन्’ जारी विज्ञप्तिमा भनिएको छ ।