रुकुम, ५ असार-सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस सुरु भएको हो ।
सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै २९ जनाको बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको रुकुम अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए ।
पहिलो दिन आज वादीका तर्फबाट ५ सरकारी वकिलले बहस गरेका छन् । बाँकी बहस आइतबार हुने स्रेष्तेदार बोहराले बताए । उनका अनुसार आइतबार जाहेरीवालाका तर्फबाट बहसका लागि वकालतनामा पेश गरेका वकिलले बहस गर्ने छन् ।
वादी र जाहेरीवालाका तर्फका वकालतनामा पेश गरेका वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका वकिलले बहस गर्ने उनको भनाइ छ । अहिलेसम्म वादी र जाहेरीवालाका तर्फबाट ५ सरकारी वकिलसहित १६ र प्रतिवादीका तर्फबाट ७ वकिलले बहसका लागि रुकुम अदालतमा वकालतनामा पेश गरेका छन् ।
थुनछेक बहस कुन दिन सकिन्छ भनेर अहिले नै भन्न सकिने अवस्था नहेको अदालतका स्रेस्तेष्तेदार बोहराले बताए । बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ । घटनाको अभियोग लागेका ३४ मध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् । ५ जना अझै फरार छन् । २ नाबालकलाई भने सोमबार नै मुद्दा पुर्पक्षका लागि बाल सुधारगृहमा पठाउन रुकुम अदालतले आदेश जारी गरेको थियो । रासस