काठमाडौं, ८ जेठ-एक जना भारतीय मूलका प्राध्यापकले नेपालसँगको सीमा विवादलाई लिएर कडा प्रतिक्रिया सार्वजनिक गरेका छन् । स्विडेनस्थित उप्साला विश्वविद्यालयका शान्ति तथा द्वन्द्व अनुसन्धानका प्राध्यापक अशोक स्वीनले नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गर्छ भनेर कसैले पनि विश्वास नगरेको बताएका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘भारतले नेपालको नयाँ नक्सा स्वीकार गर्छ भनेर कसैले पनि विश्वासै गरेका थिएनन् । तर, यो नक्सा युद्ध कसले सुरु गरेको थियो ?’
उनले भारतले सन् २०१९ मा एकतर्फी रूपमा नक्सा बनाएर किन जारी गरेको भन्ने प्रश्नसमेत गरेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अन्धराष्ट्रवाद रहेको टिप्पणी गर्दै त्यसैका आधारमा नयाँ नक्सा बनाएको बताएका छन् ।
उनले भनेका छन्, ‘भारतले २०१९ मा एकतर्फी नक्सा किन बनायो ? यो सत्ताअन्ध मोदीले काश्मिरको नक्सा पुनः बनाउनका लागि गरेका थिए । तर, नेपाल काश्मिर होइन ।’