प्रदेश २ मा हालसम्म ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म धनुषा, बारामा १/१ र पर्सामा २ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।
चारै जनाकाे अहिले आइसोलेसनमा उपचार जारी छ । ४ सक्रिय पत्रकारमा काेराेना देखिएपछि फिल्डमा रिपोर्टिङ गर्ने पत्रकारलाई चुनौती थपिएको छ । नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति रहिसकेका प्रदेश २ का सांसद रामअशिष यादवले पत्रकारहरूले विशेष सर्तकर्ता अपनाउनुपर्ने बताए ।
अहिले पनि यहाँका धेरै पत्रकार सामान्य मास्क लगाएर स्थगलगत रिपोर्टिङ गरिरहेका छन् । साधनको अभावका साथै केहीले भो भाइरसलाई गम्भीरताका साथ नलिँदा जोखिम बढेको छ । जनकपुरधामका चिकित्सक डा. सज्जन ठाकुरले यो भाइरस अअन्य रोग जस्तो सामान्य नरहेकाले सबैले गम्भीर हुनुपर्ने बताए ।
हाम्रो सानो असावधानीले अरूमा समेत संक्रमण फैलन सक्ने भएकाले सबैले सावधानी अपनाउन पर्ने उनले बताए । आफ्नो व्यक्तिगत सरसफाइ गरेको खण्डमा मात्रै पनि कोरोनाको संक्रमणबाट बच्न सकिने चिकित्सकहरूले बताइरहेका छन् ।
‘सबै पत्रकारले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनुपर्छ । म दिनभरी फिल्डमै रहने गर्छु तर मास्क जुन बेला पनि लगाउँछु’ पत्रकार घनश्याम मिश्रले भने । कोरोना भाइरस फैलिन रोक्न अहिलेसम्म धनुषा र पर्साका ५ दर्जनभन्दा बढी पत्रकारमा परीक्षण गरिएको छ ।
कोरोना परीक्षण गर्दा संक्रमण रोकिने नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले वताए । पहिला पत्रकारहरूलाई बस्न, कम्प्युटर लगायतको व्यवस्थापन पत्रकार महासंघमै गरेको थियो । तर, अहिले १ जनामा संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।