काठमाडौं, जेठ ४-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा तामेलीमा राख्ने निर्णय गरेको हो ।
‘जोहरी दरखास्तमा लिइएको ब्यहोरामा अहिलेसम्मको अनुसन्धानले थप प्रमाण खुल्यो भने अनुसन्धान हुनसक्छ’ काठमाडौंका सह-न्यायाधिवक्ता नुमराज खनालले भने, ‘अहिलेको अनुसन्धानबाट पुष्टि हुने अवस्था देखिएन त्यही भएर दरखास्त तामेलीमा रहने भएको हो ।’
१४ वैशाखमा काठमाडौं प्रहरी परिसरमा टेकुमा गएका जनता समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवको जाहेरी प्रहरीले लिन अस्वीकार गरेको थियो । यद्यपि सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद यादवको जाहेरी दर्ता गरेर अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिएको थियो ।