धनगढी, १ जेठ-देशभर कोरोना संक्रमितको संख्या थपिँदै गएपछि कैलालीमा पनि लकडाउनमा थप कडाइ गरिएको छ ।गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेपछि कैलालीमा पनि आवागमनमा कडाइ गरिएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले अर्को जिल्ला जाने पास दिन बन्द भइसकेको जानकारी दिए । ‘गृह मन्त्रालयको निर्णयानुसार आवागमनमा कडा गरेका छौँ,’ उनले भने ‘अत्यावश्यक परे पनि दुवै जिल्लाको सहमति लिनुपर्ने मापदण्ड बनाएका छौँ ।’
योसँगै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । लक डाउनको पालना गराउन थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।